काठमाडौं । ५ असोजमा एप्पलले आफ्नो नयाँ ‘आइफोन १४’ भारतमा बनाउने घोषणा ग¥यो । ‘आइफोन १४’ को पाँच प्रतिशत उत्पादन यही वर्षदेखि भारतमा सुरु हुनेछ । यस अगाडि एप्पलले ‘आई फोन’ चीनमा उत्पादन गर्दै आएको थियो ।
लगानी मामिलाका विशेषज्ञ जेपी मोर्गनका अनुसार २०२५ सम्म एप्पलले आफ्नो एक चौथाई उत्पादन भारतमा गर्नेछ ।
त्यसो त सन् २०१७ देखि नै एप्पलले भारतको तमिलनाडुमा आईफोन बनाइरहेको छ । तर चीन र अमेरिकाबिच चलिरहेको व्यापार तानावबीच नयाँ आइफोन भारतमा निर्माण गर्ने उसको निर्णय महत्वपूर्ण मानिएको छ ।
एप्पलले आफ्नो नयाँ फोन भारतमा उत्पादन गर्नुको मुख्य कारणमध्ये एक हो, चीनले अपनाएको ‘जिरो कोभिड’ नीति ।
यो नीतिका कारण चीनबाट उत्पादन हुने सामाग्रीको वैश्विक आपूर्ति श्रृखंला प्रभावित भएको छ । कोरोनाका कारण लगाइएका प्रतिबन्धका कारण चीनका कयौं उद्योग बन्द भएका छन् र संसारभरको आपूर्ति प्रभावित भइरहेको छ ।
यस बाहेक विश्वभरका कम्पनीहरुले ‘प्लस वान’ नीति अपनाउन खोजिरहेका छन् । अर्थात आफ्ना सामाग्री उत्पादनका लागि चीनको मात्र भर नपर्नेगरी अर्को विकल्प खोजिरहेका छन् । पछिल्ला केही दशक यता चीन संसारभरको उत्पादन केन्द्रका रुपमा परिचित थियो । अहिले भारत आफूलाई उत्पादन केन्द्र बनाउन लागिरहेको छ ।
चीनमा आफ्ना सामान उत्पादन गरिरहेका कम्पनीहरु चीनको नीतिमा परिवर्तन आउने समयसम्म पर्खिन खोजिरहेका छैनन् । सामान ढुवानी गर्ने कम्पनी डिएचएलका प्रमुख कार्यकारी अधिकृत अस्कर डे बोक भन्छन्, ‘चीनको नीति परिवर्तन हुने प्रतिक्षा गर्न सक्दैनन् कम्पनी । सामान उत्पादनका लागि एउटै ठाउँमा मात्र निर्भर पनि हुन सक्दैनन कम्पनीहरु ।’
कम्पनीहरु चीनबाट विस्तारै भारत, भियतनाम र मेक्सिको जस्ता देशमा आफ्ना सामाग्रि उत्पादन गर्न खोजिरहेका छन् ।
सामाग्री उत्पादनका लागि चीनको विकल्प खोजिरहेका कम्पनीलाई आकर्षित गर्न भारतले आफ्नो देशमा समान उत्पादन गर्ने ठूला अन्तर्राष्ट्रिय कम्पनीलाई विक्तिय प्रोत्साहन पनि दिइरहेको छ ।
ठूलो बजार, बार्षिक ६ देखि ७ प्रतिशत कुल गृहस्थ उत्पादनमा भइरहेको बृद्धि र कम लागतमा पाईने श्रमशक्तिका कारण पनि ठूला अन्तर्राष्ट्रिय कम्पनीहरु भारतमा आफ्ना सामान उत्पादन गर्न खोजिरहेका छन् ।
एशियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारत आफूलाइ निर्यात तथा निर्माणको केन्द्रका रुपमा स्थापित गर्न बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गरिरहेको छ ।