hamro khabar bardiya

‘प्रधानमन्त्रीज्यू- सन्दीप लामिछानेलाई भेट्नुभयो, मलाई भेट्नुहुन्न ?’

सन्दीप लामिछाने खेलजीवनमा फर्केदेखि गौशाला २६ को आत्मसम्मान ध्वस्त छ । पछिल्लो आईसीसी विश्वकप क्रिकेट लिग २ मा उनको खेलको ठूलो वाहवाही भयो । खेल, संगीत, कला आदिमा ‘फ्यान फलोइङ’ र ‘मास एड्मिरेसन’ले यसरी गाँज्दै लैजान्छ कि कहिलेकाहीं त्यहाँ तर्क, तथ्यको गुन्जायस कमजोर भइदिन्छ ।

प्रेसले सन्दीप अहिले पनि अदालतमा जघन्य अपराधको मुद्दा खेपिरहेका अभियुक्त हुन् भनी सामान्य तथ्य सम्झाइदिंदा चौतर्फी आक्रमणको शिकार बन्नुपरेको छ । उनले सफाइ नपाउँदै क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) ले किन उनलाई राष्ट्रिय टोलीमा समावेश गर्न सक्रिय भयो भनी सोधिनु सामान्य थियो । तर यस प्रश्नलाई असामान्य रुपमा लिंदै प्रेसमाथि समेत भद्दा शैलीमा आक्रमण गरियो ।

तर वास्तविक पीडित हामी होइनौं, गौशाला २६ (प्रहरीले राखेको काल्पनिक नाम) हुन् । सन्दीपले आफूलाई बलात्कार गरेको जाहेरी उनले प्रहरीमा दिइन्, यो मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । यो पंक्तिकारलाई राजधानीको एक स्थानमा भेट्न आउने किशोरी नै सर्भाइभर होलिन् भनेर सुरुमा ठानिहाल्न कठिन भयो । त्यो दिनको जाँच नदिई कलेज ड्रेसमा आइपुगेकी उनले मोटो फ्रेम भएको चस्मा लगाएकी थिइन् । घाँटीमा कलेजको परिचयपत्र झुन्डिरहेको थियो ।

कार्डमा मैले उनको नाम पढें । कलेज प्रांगण बाहिर कार्ड लगाउनु आवश्यक नरहेको सम्झाएँ । उनलाई आफू कार्ड झुन्ड्याएरै कति परसम्म हिंडिसकेछु भन्ने पत्तै रहेनछ ।

अन्तर्राष्ट्रिय रुपमै नाम चलेका क्रिकेटर सन्दीप लामिछाने, जसले दिलाएका एकपछि अर्को सफलतामा खुसी नहुने कुन नेपाली थियो होला ! हामी पनि उनीप्रति गौरव गर्ने नागरिकहरु नै थियौं । पहिलोपल्ट सन्दीपमाथि बलात्कारको आरोप लागेको खबर सुन्दा सुरुमा विस्मय, अनि घृणाभाव उब्जेको थियो । यस्तै यस्तैमा दिनहरु बितिरहेका थिए ।

गौशाला २६ कस्तो पारिवारिक संघर्षबाट गुज्रँदै यहाँसम्म आइपुगेकी किशोरी हुन्, अनि कसरी सन्दीपसँग सामीप्य बढ्यो भन्नेबारे कान्तिपुरमा तुफान न्यौपानेले लेखेको रिपोर्ट पढेपछि भने मानवतामाथि नै दिगमिग लागेर आउलाजस्तो भएको थियो । धेरैले उक्त रिपोर्टिङ शेयर गर्दा म प्रतिक्रियाविहीन बन्न पुगेको थिएँ । भावनात्मक तीव्रताले शब्द शून्यता उत्पन्न भएको थियो ।

यो रिपोर्टमा सन्दीपको क्रिकेट मैदानमा पुनरागमनपछि बिथोलिएको सर्भाइभर मनोविज्ञानबारे चर्चा छ । अझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिग २ मा नेपाललाई सफलता दिलाउने खेलाडीहरुकै लहरमा सन्दीपलाई खादा, माला र ह्यान्डसेकले अभिनन्दन गरेपछि भत्किएको उनको विश्वासबारे चर्चा छ । हरेक वाक्य बोल्दा उनी असंयम हुन्थिन् । दुवै हातका औंलाहरु जतिखेरै काँपिरहेका थिए ।

अनलाइनखबरले गौशाला २६ लाई त्यो दिन, अर्थात् फागुन ११ गतेको दैनिकीबारे सोध्यो । ११ फागुनमा प्रधानमन्त्री प्रचण्डले सन्दीपलाई आफ्नो सरकारी निवासमा भेटेका थिए ।

प्रधानमन्त्रीले सन्दीपलाई भेट्दा तपाईंलाई कस्तो लाग्यो भनी सोध्नु मूर्खता हुन्थ्यो । तर फेरि पनि उनको अनुभूति कुनै न कुनै रुपमा थाहा पाउन मन थियो । हाम्रा मन्त्री, सांसदहरु, हाम्रा न्यायाधिकारी, हाम्रा प्रहरी, प्रशासन, पत्रकार, प्राज्ञिक स्थल र सार्वजनिक स्पेसहरु अझै पनि संवेदनशील बन्नुपर्ने जति बनिसकेका छैनन् । हामी आफैं पनि, तपाईं या म आफैंले पनि पर्याप्त होसियारी नअपनाउँदा एक या अनेक त्रुटिहरु हुन गए होलान् ।

अझ हाइप्रोफाइल प्रतिवादी सामेल भएको भनिएको मुद्दाबारे बोल्न कति कठिन छ । आत्ममुग्धताले ग्रस्त मानिसहरुको बहुसंख्या भएको समाजमा न्यायको मुद्दा कहिलेकाहीं अलोकप्रिय पनि सुनिन्छ । तर प्रेसको त कामै यही हो । यसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।

बाँकी बयान गौशाला २६ कै शब्दमा :

मानसिक शान्ति होस् भनेर म आफूले गरेका कामहरु डायरीमा लेख्ने गर्छु । भोलिपल्ट गर्नुपर्ने काम अघिल्लो साँझ नोट गर्ने गर्छु ।

११ फागुनको साँझ मैले बसेर डायरी लेख्न सकिनँ । मन आत्तिएको थियो । त्यसैले हिंड्दै हिंड्दै मोबाइलमा नोट लेखें – ‘इट वाज गुड डे बिकज् आई मेट काउन्सिलर । बट् इट वाज भेरी वर्स्ट इभिनिङ बिकज् आई केम टु नो हि मेट प्राइम मिनिस्टर । अ रेपिस्ट डज् नट् डिजर्भ सो ।’

(आज मेरो दिन राम्रो रह्यो । किनभने मैले मनोपरामर्शदाता भेटेर सबै कुरा साझा गरें । तर साँझ मेरो पूरै खराब रह्यो । किनभने मैले थाहा पाएँ– सन्दीप लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेछ । देशको प्रधानमन्त्रीसँग हात मिलाउन एउटा बलात्कारी लायक छैन ।)

यति लेख्दा पनि हल्का नभएपछि म अर्को एक चक्कर लगाउन हिंडे । फर्केर आउँदा अलिकति हल्का भयो । यतिबेला म थोरै भए पनि खुसी छु । अब सुत्ने कोशिश गर्छु ।

मैले आज परीक्षा दिइनँ । दिने कोशिश नै गरिनँ । म कक्षामै राम्रो गरेर स्कलरसिप पाउने विद्यार्थी थिएँ । आजभोलि सामान्य जस्ता प्रश्नहरु देख्दा एकदमै अलमल हुन्छ । अचेल मलाई केही याद हुँदैन । चियाको कप हातबाट कतिखेर भुइँमा खसिसक्छ …. (रुँदै) थाहै हुँदैन । (उनी एकछिन टोलाइन्)

अदालतमा बहस गर्दा पनि समान किसिमको अनुभूति हुँदैन । प्रतिवादी सन्दीपका लागि सात जनाले बहस गर्दा पाँच मिनेटको दरले ३५ मिनेट बोल्छन् । मेरा लागि दुई वकिलले पाँच पाँच मिनेट गरेर जम्मा १० मिनेट पाउँछन् । त्यो मुद्दा लड्न पनि उनीहरुले मबाट कुनै फी पाउँदैनन् । पैसै छैन, के दिने ?

मैले भनेकी छु उहाँहरुलाई– तपाईंहरुलाई पैसा दिन पनि सक्दिनँ । त्यसैले आफ्नो सबै करिअर मेरो मुद्दाका लागि लगाउनुहोस् भनेर कसरी भनौं ! तर यसलाई सामान्य अरु बेलाको जस्तो मुद्दा नठान्दिनुहोस् । किनभने यो तपाइँहरुका लागि धेरैमध्ये एउटा मुद्दा होला, तर मेरा लागि त यो सबैथोक हो । मेरा लागि यो मुद्दा जित्नु भनेको एउटा बलात्कारीका कारण थोरै थोरै गर्दै मरिरहेको जिन्दगीलाई आफूकहाँ ससम्मान फिर्ता लिएर आउनु हो ।

त्यसैले मैले अस्ति तुफान अंकल (कान्तिपुर संवाददाता तुफान न्यौपाने) लाई भेटें । आज तपाईंलाई भेट्दैछु । किनभने यहाँ पीडित नमरुन्जेलसम्म समाजले बलात्कार भएको विश्वास नै गर्दैन ।

प्रधानमन्त्रीलाई मेरो भन्नु यत्ति छ । मलाई एकदमै होपलेस (निराशाभाव) अनुभव भइरहेको छ । मान्छेहरु सन्दीपको केसमा किन बोल्दैनन् भन्ने थाहै छ । किनभने ऊ सेलेब्रिटी हो । तपाईंले उसलाई खुलेआम माला लगाइदिनुभयो । म यहाँ लुकेर हिंड्नुपरेको छ ।

तपाईंको आँखामा ऊ पनि नागरिक, म पनि नागरिक । उसलाई भेट्नुभयो, मलाई चैं भेट्नुहुन्छ कि हुँदैन ? प्रधानमन्त्रीज्यू, बलात्कारको अभियुक्त मात्रै होइन पीडितहरुलाई पनि भेट्ने गर्नुहोस् न ।

म तपाईंलाई एउटा खेलाडीका कारण कसरी अर्को व्यक्तिको जीवन बर्बाद हुँदैछ, सुनाउन चाहन्छु । उसको कारण कसरी देशको बेइज्जत हुँदैछ भन्न चाहन्छु । योनीलाई केटीको इज्जतसँग दाँज्दा कसरी छोरीहरुले मूल्य चुकाउनुपरेको छ, म सुनाउन चाहन्छु ।

लुकिराखेका मजस्ताहरु कति छन् कति प्रधानमन्त्रीज्यू । भेट्नुहोस् न मलाई र हामी जस्ता मुस्किलले बाँचिरहेकाहरुलाई पनि एकपल्ट ।

एक किसिमले हेर्दा, उसले मेरो सबैथोक लुटेर गयो । अब कसरी बाँचौं ।

अर्को किसिमले हेर्दा, तर होइन । हाइप्रोफाइल प्रतिवादी भएको केसमा लड्न पनि मलाई राज्यको बल चाहिन्छ । बाँकी जीवन आत्मसम्मानपूर्वक जिउन, प्रतिवादी नफुत्कोस् भनेर पनि त्यो चाहिन्छ । योबाट सन्दीपले प्रिभिलेज पायो भने यस्तै घटना अर्कोसँग गर्छ । अरु प्रतिवादीले पनि गर्छन् । यस्तो नहोस् प्रधानमन्त्रीज्यू । त्यसैले म केवल मुद्दा जित्नका लागि लडिरहेकी छैन । म भोलि अरु पीडितहरुले पनि आफ्ना लागि बोल्ने हिम्मत जुटाउन सकुन् भनेर बोलिरहेकी छु ।

प्रधानमन्त्रीज्यू, म डराउँदै लुक्नुपर्ने किन ? मैले के गल्ती गरेकी छु ? मेरा अभिभावकले मलाई बुझ्दैनन् । पैसामा सल्टाउन खोजिंदा स्वीकार गर्न दबाव दिन्छन् मलाई नै । यो समाजले मलाई र मजस्ता पीडितलाई बुझ्दैन । हामीले खोजेको न्यायको अर्थ बुझ्दैन । तपाईं पनि बुझ्नुहुन्न ?

मैले बिहान पाँच बजे उठेर भजन सुनें । एकैछिन फोन स्क्रोल गर्दै ब्याग मिलाएँ । चिया खाएँ । कलेज गएँ । एकदमै डिस्टर्ब भयो । कलेजबाट फर्केर मनोपरामर्शदाताको घर गएँ । उनलाई मैले आफ्नो सबैथोक सेयर गर्ने गरेकी छु ।

उनले सोधिन्, ‘आजको दिन कस्तो रह्यो ?’

मैले उनलाई सुनाएँ, ‘म कुन हालतमा बाँचिरहेकी छु भनेर मेरो पुरानो होस्टलका कतिपय साथीहरुलाई थाहा छ । उनीहरु पहिलोपल्ट आज मलाई भेट्न आए । साथीहरुलाई देख्दा म औधी खुसी भएँ । तर भेट्नेबित्तिकै उनीहरुले मलाई अहिले तिमीलाई कस्तो छ भनेर सोधेनन् । उनीहरुले मलाई ‘अस्ति लगेको लुगा फिर्ता देऊ । हामी त्यो लिन आएको’ भने । मलाई असाध्यै ग्लानि भयो । नराम्रो अनुभव भयो ।

परामर्शदाताले राम्रोसँग सुनिन् । खासै केही जवाफ नदिए पनि उनको सुन्ने शैली मलाई मन पर्छ ।

साँझ मलाई एकदमै गह्रौं अनुभव भएर आयो । म पछिल्लो दिनहरुमा साँझपख कहिल्यै निस्कन्नथें । बाहिर बाटोभरि मोबाइलमा नोटहरु लेख्दै हिंडें । एउटा चिया पसलमा चिया खाएँ । ऊ परको उकालोमा बसेर मज्जाले रोएँ । आफैंसँग रुँदा पनि मन हल्का हुँदो रहेछ ।

मेरो टेस्ट चलिरहेको छ । तर त्यसको लागि पढेको पटक्कै याद हुँदैन ।

फोन हेर्दाहेर्दै कतिबेर टोलाउँछु । कहिले त्यत्तिकै निदाउँछु । कहिले चाहिं कत्ति बल गरे पनि निदाउन सक्दिनँ । मैले मास्क, चस्मा लगाएर हिंड्दा देख्नेले अप्ठेरो महसुस गर्छन् । कतिले त अब टाउकोमा गम्छा पनि बाँधेर हिंड भनेर हेप्छन् ।

उनीहरुलाई के थाहा, म को हुँ, किन यसरी हिंड्न बाध्य छु । मैले ‘धुलोबाट बच्न यसो गरेको’ भनेर टार्ने गरेकी छु ।

मैले हिजो लुगा पनि धोएँ । लुगा धुँदा घरपरिवार सम्झेर झन् दुःख लाग्यो । म सानै हुँदा आमा र बुवाको झगडाले हाम्रो बाल्यकाल तहसनहस भयो । दाइमा पनि त्यसको गहिरो असर छ ।

तर होस्, म यो कुरा सोच्दिनँ भनेर मन अन्त लगें । काम सकेर बाहिर आएँ । मोबाइल चलाएँ ।

त्यसमा सन्दीपको न्यूज देखें । ऊ आफूले केही गरेको छैन, देशका लागि योगदान गर्दैछु भन्दै बोलिरहेको छ । क्यानले आफ्नो खेलाडीको कुनै गल्ती नभएको भन्दै निलम्बन फुकुवा गरेको छ । प्रधानमन्त्रीले हात मिलाएको समाचार साँझमा देखें ।

मलाई त लाग्छ – यहाँ पावरको ठूलै चलखेल छ ।

सायद अदालतले फैसलाबाट सफाइ दिएको भए कम्तीमा मैले पनि यस्तै रहेछ यहाँ भनेर चित्त बुझाउँथें हुँला । ऊ अब निर्दोष भएर निस्कियो भने पनि मैले त्यहाँ पावरको खेलबाहेक केही बुझ्ने छैन । किनभने सत्य के हो, मलाई, मलाई, मलाई थाहा छ ।

मेरो जिन्दगी यहाँ बर्बाद बनाएर ऊ हरेक दिन अबिर र मालामा हिंड्छ । आखिर मेरो के गल्ती छ, भनिदिनुहोस् प्रधानमन्त्रीज्यू ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com