बर्दिया l राजापुर नगरपालिका–१ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे ।
भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरहेको थियो । घरमा बसेर उच्च शिक्षा पढ्न नसक्ने भएपछि विवेकले पढाइसँगै कमाइ पनि हुने बाटो खोज्न थाले । त्यसै क्रममा उनले कसैबाट सुने– रुसमा पढाइसँगै कमाइ पनि हुन्छ । त्यसपछि आवश्यक तयारी गरेर उनी रुसी राजधानी मस्कोस्थित एक कलेजमा स्नातक अध्ययनका लागि हिँडे । त्यहाँ गएर रुसी सेनामा भर्ना भएका विवेक दुई सातायता भने युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनाको नियन्त्रणमा पुगेको खबर सुनेपछि यता परिवारका सदस्य विक्षिप्त छन् । लामो समयदेखि प्यारालाइसिस पीडित आमा इन्द्रादेवी छोराको खबर पाएयता अचेतजस्तै भएकी छन् । १५ दिनअघि युक्रेनी सेनाले नियन्त्रणमा लिएपछि विवेकले घरमा भिडियो कल गर्दै आफ्नो अवस्थाबारे बताएका थिए । ‘त्यसपछि फोन आएको छैन, हामीलाई त रुसी सेनामा भर्ना भएको केही जानकारी थिएन,’ विवेककी फुपू महिमा सिंहले भनिन्, ‘कसैको लहलहैमा लागेर रुसी सेनाका लागि काम गरेको होला ।’ एक आफन्तका अनुसार तीन महिनाअघि रुसी सेनामा भर्ना भएका विवेक युक्रेनविरुद्ध लड्दै आएका थिए । निम्न मध्यम वर्गीय परिवारका विवेक घरका जेठा छोरा हुन् । पढ्ने र कमाउने भन्दै उनी २०२२ अक्टोबर २३ मा रुस गएका हुन् । उनी मस्कोस्थित कलेज अफ टेक्नोलोजी एन्ड फाइनाइन्समा अध्ययन गर्दै आएका फुपू महिमाको भनाइ छ । घटना सार्वजनिक गर्दा कतै केही भइहाल्ने डरले कसैलाई नभनेको विवेकका भाइ विशालले बताए । ‘रुस जाने बेला आमालाई चिन्ता नगर्नूस् । म कमाएर उपचार गर्छु भनेर हिँडेका थिए,’ विशालले भने, ‘त्यहाँ गएपछि तीन महिनाअघि ३५ हजार पठाएका थिए ।’ घरमा असोज २७ मै विवेक युक्रेनको नियन्त्रणमा रहेको जानकारी पाएको उनले बताए । विवेक पक्राउबारे सामाजिक सञ्जालमा खबर सार्वजनिक भएको थियो । युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन गेरान्चेन्कोले युक्रेनको आम्दिभ्का नजिकबाट युक्रेनी सेनाले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । विवेकले रुसी मन्त्रालयमा सम्झौतामा हस्ताक्षर गरी एयरबोर्न फोर्सका लागि काम गरेको गेरान्चेन्कोले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । बर्दिया प्रहरीका एसपी सुधीरराज शाहीले मातहतका इकाइमार्फत शुक्रबार उनको परिवारको ठेगाना पत्ता लगाएको बताए । आर्थिक अवस्था कमजोर भएकाले विवेकका बुवा जयबहादुर कामको सिलसिलामा भारतमा छन् । दुई छोरा र तीन छोरी रहेको खत्री परिवारको १० कट्ठा जग्गा छ ।
घरकै आशाभरोसा रहेका जेठा छोराको उद्धारका लागि परिवारले सरकारसँग पहल गरिदिन आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उद्धारका लागि शुक्रबार नै गृह मन्त्रालयसँग समन्वय गरिएको बताए । काका पृथ्वी केसीका अनुसार विवेक काठमाडौंको तीनकुनेस्थित शैक्षिक परामर्शदाता कम्पनी एनईओ नेपालमार्फत रुस पुगेका हुन् । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले विवेकबारे दूतावाससँग कुनै सूचना नभएको जनाएका छन् । ‘हामीले भिडियो क्लिप देख्यौं तर यस विषयमा कुनै पनि जानकारी छैन,’ उनले भने । युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले सन् २००२ को फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । ६ सय १३ दिन लामो युद्धका क्रममा ९ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने १६ हजारभन्दा बढी घाइते भएका छन् । दुवै देशको सेनाले ठूलो क्षति व्यहोरेका छन् । न्युयोर्क टाइम्सका अनुसार दुवै देशका करिब पाँच लाख सैनिक मारिएका वा घाइते भएका छन् । युद्धका क्रममा एक लाख २० हजार रुसी सैनिक र ७० हजार युक्रेनी सैनिक मारिएका अमेरिकी सरकारको दाबी छ । यद्यपि, रुसले भने आफ्नोतर्फ ५ हजार ९ सय ३७ सैनिकको ज्यान गएको बताएको छ । रुसले पश्चिमा सैन्य गठबन्धन नेटो विस्तारका मामलामा युक्रेन तटस्थ रहनुपर्ने बताउँदै आएको छ । पछिल्लो समय भने रुसले सैन्य रणनीतिमा परिवर्तन गर्दै युक्रेनी राजधानी किभलगायतका केही सहरमा सैन्य उपस्थिति कम गरिसकेको छ । तर रुसी भाषा बोलिने पूर्वी युक्रेनमा भने आक्रमण जारी राखेको छ । पछिल्लो समय आक्रमण बढाइएका क्षेत्रहरू रुस समर्थित पृथकतावादीको नियन्त्रणमा छन् । त्यसको अर्थ रुसले पृथकतावादीहरूको नियन्त्रणमा रहेका लुहान्स्क र दोनेत्स्क क्षेत्रको स्वतन्त्रता स्वीकार गर्नुपर्ने माग अघि सार्ने देखिन्छ । त्यस्तै, रुस सन् २०१४ मा आफ्नो मुख्य भूभागमा गाभेको क्राइमियालाई युक्रेनले आधिकारिक रूपमा स्वीकार गर्नुपर्ने पक्षमा देखिन्छ । त्यसैगरी, पुटिनले युक्रेनी सरकार नवनाजीहरूबाट परिचालित भएको आरोप लगाउँदै आएका छन् । आक्रमण सुरु गरेसँगै पश्चिमा देशहरूले करिब एक साताभित्र रुसले युक्रेनमाथि नियन्त्रण कायम गर्ने र आफ्नो अनुकूलको सरकार गठन गर्ने अनुमान गरेका थिए । तर रुसी आक्रमण सोचेअनुसार सफल भने देखिएको छैन । जसका कारण रुसले जेलेन्स्की नेतृत्वको सरकारलाई नै निरन्तरता दिने कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएको छ । कान्तिपुरबाट