आप्रवासन आधुनिक समयको रहर र बाध्यता दुवै हो । यसलाई आजको दुनियाँमा मान्छेको बाँच्न पाउने अधिकार, अवसर र समृद्धिसँग जोडिंदै आएको छ । आप्रवासन आफूले चाहेर होस् वा कसैको दबाबमा परेर, यसका आफ्नै दुःखहरू हुन्छन् । सकारात्मकताका जति नै पुलिन्दा लगाइदिऊँ, परदेशिने मुटुसँग आफूभन्दा ठूलो पीडाको पहाड हुन्छ । कृष्ण कुसुमको कथा संग्रह पार्श्वधुन रहर र बाध्यता बीच निस्केका आप्रवासी जीवनका उच्छवासहरू हुन् ।
संग्रहमा १३ वटा कथा छन् । अधिक कथाले परदेशी र आप्रवासनको कथा भन्छन् । त्यसमा ६ वटा कथाको विषय अमेरिकासँग जोडिन पुगेको छ । निश्चय नै अमेरिका धेरैको सपनाको देश हो । स्वतन्त्रता र स्वच्छन्दता अमेरिकी जीवनको पर्यायको रूपमा व्याख्या गरिन्छ । तर त्यही अमेरिका पुगेका कतिको जीवन ग्याँस च्याम्बरमा झैं निस्सासिएको छ । उनीहरूको लागि अमेरिका रहर हैन, बाध्यता हो । जसले अफ्रिकन मूलका बेलायती लेखक तथा कवि वासरन सायरको ‘होम’ शीर्षक कवितांशलाई स्मरण गराउँछ ।
कसैले पनि घर छोड्दैन
जबसम्म घर शार्कको मुखमा हुँदैन
तिमी मात्र सिमानाको लागि दौडन्छौ
जब सिंगो शहर उतै दौडेको देख्छौ
कतिपय अवस्थामा देश छोड्नु बाध्यता हो । किनभने राजनीतिक गतिविधि र षडयन्त्रमा कहिलेकाहीं देश घर हैन, आफंैलाई निल्ने शार्क माछा बनिदिन्छ । लेखकले एउटा अन्त्य शीर्षक कथामा भुटानी शरणार्थीको यस्तै हृदयविदारक वृत्तान्त उतारेका छन् । आफन्तको दाउपेच अनि राजनीतिक निर्णयको कारण भुटानका केही नेपाली भाषी शरणार्थी बन्न पुगे । ती भुटानीहरूले देश फर्किनको लागि धेरै संघर्ष गरे । तर उनीहरूमध्ये अधिकांश अमेरिकामा स्थानान्तरण भएका छन् । थोरै मात्रामा अन्य देश पनि पुगेका छन् । कथाका प्रमुख पात्र गोपाल अंकलले मनमा भुटान बोकेर अमेरिकाको वैभवभित्र निस्सासिएको मानिसको प्रतिनिधित्व गर्छ । उनको लागि भुटान छोड्नु भनेको वासरन सायरको माथि उल्लिखित कवितांश झैं हो । तर देश नभएको मान्छेको एक्लोपन ठूलो शत्रु हो । कथाका प्रमुख पात्रले एक्लोपनसँग जुध्न नसकेर आत्महत्या गर्छन् ।