साथी खबर राजापुर २०८०-०७-२७ बर्दियाको राजापुर नगरपालिका १० मा रहेको गौशालामा आज सोमबार सामूहिक गाईपूजा गरिएको छ । बजार क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थित गरि पालन गरिएको राजापुर नगरपालिका वडा नं. १० मझरामा रहेका गाईहरुको गाईतिहारे औँसीको दिन सामूहिक पूजा गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले वताउनु भयो ।

हिन्दु धर्मावलम्बीहरुले घरमा पालेका गाईलाई आमा भनेर पूजा गर्ने र नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाउने परम्परा रहेको र आफूहरुले गौशालामा राखेका गाईलाई पूजा गरेको राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले जानकारी दिनु भयो । हिन्दु धर्मावलम्बीले पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गर्ने चलन रहे पनि सहर बजार गाउँघरमा गाई पाल्ने प्रचलन घट्दै गएको वडाध्यक्ष पोख्रेलको भनाइ छ ।

गौशालामा गौपूजनका लागि नगर प्रमुख थारु सहित वडाध्यक्ष, नगरपालिकाका कर्मचारी, पशु शाखाका चिकित्सक लगायतको उपस्थिति रहेको थियो । भौरा क्षेत्रका समाजसेवीहरुले गौशालामा गाईको पूजा मात्रै गरेर नहुने केही समय पछि गौशालामा आहाराको अभावले गाई मर्ने भन्दै अहिले खेतमा बाल्ने पराल गौशालामा लैजान नगरपालिकालाई सुझाव दिएका छन् । किसानले खेतमा पराल पोल्ने गौशालाका गाई भोकै मर्ने भन्दै समाजसेवीहरुले किसानलाई पनि पराल नपोल्न आग्रह गरेका छन् ।