बर्दियाको राजापुर १ का स्थायीवासी तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ

साथी खबर राजापुर २०८०-०६-०५ बर्दियाको राजापुर १ का स्थायीवासी तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको गएराति काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । त्यसपछि उहाँले चुनाव लड्नु भएन ।

उहाँ गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुनुहुन्छ । बर्दिया जिल्लाको समग्र विकासका लागि आवाज बुलन्द रुपले उठाउन सक्ने सफल राजनीतिज्ञको अवसानले जिल्लालाई अपूरणीय क्षति भएको राप्रपा राजापुरका युवा नेता राममणि उपाध्यायले वताउनु भयो । भट्ट मायालुले बर्दियावासी सेवा सुविधाका जस्तो सुकै समस्यामा पक्षपात नगरी सहयोग गर्ने गरेको थुप्रै अनुभव आफुसँग रहेको भन्दै उहाँबाट सबै पाटीका युवा नेताहरुले धेरै अनुकरण गर्न सक्ने उपाध्यायको भनाई छ । रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । उहाँ त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष हुनुहुन्थ्यो । जनवादी मोर्चाबाट उहाँ नेपाली कांग्रेस प्रवेश गर्नु भएको थियो । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उहाँ पटक–पटक जेलसमेत पर्नु भएको थियो । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गर्नु भएको थियो । पछिल्लो समय उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com