बर्दियाको राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय १ वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कमैया महिला जागरण समाज नेपालले मुक्त कमैया, कमलरी, दलित, विपन्न परिवार, र अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

कमैया महिला जागरण समाज नेपालले मुक्तकमैया र कमलरीको हकहितको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारुले बालबालिका कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै पालिका भित्रका कुनै पनि बालबालिकाले शिक्षाका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गर्ने शिक्षामा २७ करोड रुपैयाँ छुट्याएको बताउनु भयो ।

सोचे अनुसारको नतिजा नआएकोले शिक्षामा सुधार गर्न सबैको साथ र सहयोग आवश्यक रहेको नगर प्रमुख थारुको भनाई छ । उहाँले समय, परिस्तिथी फेरिएकोले अबका बालबालिकाले राम्रोसँग शिक्षा आर्जन गरेर अगाडी बढ्नु पर्नेमा जोडदिनु भयो ।नेपालमा कृषि बँधुवा श्रमको अन्त्य परियोजनाको सामाजिक परिचालक सम्झना चौधरीले बस्ती, वडा र नगर स्तरिय मुक्त कमैया समाज, विद्यालय, वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर विद्यार्थी छनोट भएको बताउनु भयो ।

उहाँले बालबालिकाले शैक्षिक सामाग्रीको अभाव भोग्नु नपरोस् भनेर संस्थाले विद्यार्थीलाई झोला, विद्यालय पोशाक, ज्यामिती बक्स, कापी कलम उपलब्ध गराएको जानकारी दिनुभयो