पर्यटकको आर्कषणबन्दै बर्दिया स्थित कृष्णसार संरक्षण क्षेत्र आइतबार श्रावण १४ , २०८० पर्यटकको आर्कषणबन्दै बर्दिया स्थित कृष्णसार संरक्षण क्षेत्र

यादव आचार्य, गुलरिया । नेपालबाट लोपहुन लागेपछि बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्यजन्तुको सुचिमा सूचिकृत बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार अवलोकन गर्न आउने पर्यटकको संख्या बृद्धि भएको छ । नेपालकै र्दुलभ मानिने संरक्षित बन्यजन्तु हेर्न आउने आन्तरिक, सार्क मुलुक लगायत विदेशी पर्यटकहरु बढेका छन् । सरकारले संरक्षण क्षेत्र घोषणा गरी संरक्षणको थालनी गरेपछि कृष्णसार संरक्षण क्षेत्रमा विदेशी पर्यटकको संख्या बढेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनयकुमार झाले बताए । आर्थिक वर्ष ०७८/७९ मा नेपाली ५ हजार ७ सय सार्क मुलुकबाट ४ र विदेशी ४ गरी ५ हजार ७ सय ८ जना पर्यटकहरुले कृष्णसार संरक्षण क्षेत्र अवलोकन गरेका छन् । आव ०७९/८० को अन्त्य सम्ममा नेपाली ५ हजार ५ सय ६३, सार्क मुलुक ९ र विदेशी ४२ गरी ५ हजार ६ सय १४ जनाले कृष्णसार संरक्षण क्षेत्रको अवलोकन गरेको उनको भनाई छ । केही महिना अघि श्रीमती सहित जर्मन एम्बेस्डरले पनि कृष्णसार लगायत संरक्षण क्षेत्रको अवलोकन गरेका छन् । अघिल्लो आवमा ८ जना मात्र नेपाल बाहिरका पर्यटकले अवलोकन गरेकोमा ०७९/८० मा ५१ जना नेपाल बाहिरका विदेशी पर्यटकहरु भित्रीएका छन् । उनले भने संरक्षण क्षेत्रको लागि यो खुशीको कुरा हो । अवलोकनमा आउने पर्यटकहरु मध्ये बाह्य मुलुकको भन्दा नेपालीहरुको संख्या अधिक छ । यसले आन्तरिक पर्यटन प्रर्बद्धनमा ठूलो सहयोग पुर्याएको छ । कृष्णसार संरक्षण क्षेत्रमा पर्यटक भित्रिएसँगै राजस्वमा समेत बृद्धि भएको छ । आव ०७८/७९ मा संरक्षण क्षेत्रमा आएका पर्यटकबाट ६ लाख ६३ हजार ६२० रुपैया राजस्व संकलन भएकोमा ०७९/८० को असार मसान्त सम्ममा ६ लाख ४४ हजार ८ सय रुपैया राजस्व उठेको छ । संरक्षण क्षेत्रमा पर्यटन प्रर्बद्धनात्मक कार्यक्रमहरु गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ । जसका लागि हामीले भ्यु टावर, डिजिटल वोर्ड निर्माण लगायत यादव होमस्टे प्रर्बद्धनको लागि शुरुवात गरेका छौं । बार्षिक रुपमा पर्यटक बृद्धि गर्दै संरक्षण क्षेत्रलाई पर्यटकिय हबको रुपमा बिकास गर्न स्थानिय सरकार, वडा र परिषदसँग सहकार्यगर्दै आगामी बर्षमा बिस्तार गर्ने गरी कार्यक्रमहरु तयार पारिएको झाको भनाई छ । बर्दियाको खैरापुर स्थित कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकहरु नियमित आउने गरेको संरक्षण क्षेत्र कार्यालकी गेम स्काउट दुर्गा केसीले बताईन् । उनले भनिन टिकट काटेर मात्र प्रवेशको अनुमति दिन्छौं । दशैं, तिहार जस्ता चाडपर्वमा कृष्णसार हेर्ने पर्यटकको चाप अधिक हुन्छ । अवलोकनका क्रममा कृष्णसारलाई लखेट्न, छुन, होहल्ला गर्न तथा फोहर फाल्न पाईदैन । कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकिय अवलोकनका लागि सरकारले दस्तुर तोकेको छ । गेम स्काउट केसीले भनिन् नेपालीलाई १ सय, सार्क मुलुक ५ सय र विदेशी पर्यटकले २ हजार रुपैया दस्तुर बुझाउनु पर्छ । कार सफारीको लागि १ हजार ५ सय र जीप सफारीको लागि ३ हजार रुपैया कायम गरिएको छ । दश बर्ष मुनिका स्वदेशी तथा विदेशी लगायत ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिईने गरेको छ । कृष्णसार संरक्षण क्षेत्रमा भाले ३७, पोथी १२२, बच्चा ४० गरी १ सय ९९ वटा कृष्णसार छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com